दफा १८
अध्यक्ष तथा सदस्य पदको लागि योग्यता
देहायको योग्यता पुगेको कुनै व्यक्ति बोर्डको अध्यक्ष तथा सदस्य हुन सक्नेछ:-
(क) नेपाली नागरिक,
(ख) मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा कम्तीमा स्नातक उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा अध्यक्षको हकमा कम्तीमा सात वर्ष र सदस्यको हकमा कम्तीमा पाँच वर्षको अनुभव भएको, तर दफा १३ को उपदफा (२) को खण्ड (घ) बमोजिमको सदस्यको लागि चिकित्साशास्त्र, जनस्वास्थ्य, अर्थशास्त्र वा वित्तीय व्यवस्थापन विषयमा स्नातकोत्तर तह उत्र्तीण गरेको हुनु पर्नेछ ।
(ग) भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय नपाएको,
(घ) ..........
(ङ) कुनै बीमा कम्पनीको सञ्चालक वा आधारभूत शेयरधनी नरहेको,
स्पष्टीकरण : यस खण्डको प्रयोजनको लागि “आधारभूत शेयरधनी” भन्नाले कुनै बीमा कम्पनीको कुल चुक्ता पूँजीको एक प्रतिशत वा सो भन्दा बढी शेयर आफ्नो नाममा रहेको व्यक्ति सम्झनु पर्छ ।
(च) पैँसठ्ठी वर्ष ननाघेको ।